काठमाडौँ । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले नेकपा एमाले पनि चुनावका लागि तयार रहेको बताएका छन् । च्यासलस्थित एमाले केन्द्रीय कार्यालयको अवलोकनपछि उनले सरकार र प्रमुख राजनीतिक दलहरू चुनावमुखी भइसकेको उल्लेख गरे ।
मन्त्री खरेलले निर्वाचन स्वतन्त्र, भयरहित र धाँदलीरहित बनाउन सरकारले आवश्यक वातावरण तयार गर्ने बताए । एमालेतर्फबाट चुनावी वातावरण बनाउन आग्रह आएको जनाउँदै उनले सरकारले त्यसअनुसार तयारी अघि बढाएको स्पष्ट पारे । नेताहरूको स्थानहदसम्बन्धी विषयमा निर्वाचन आयोग र सरकार दुवै लचक हुन सक्ने संकेत गर्दै मन्त्री खरेलले चुनावलाई ‘राष्ट्रिय महायज्ञ’ का रूपमा सफल बनाउन सरकार आफ्नो अधिकार क्षेत्रभित्र रहेर आवश्यक सबै सहयोग गर्न तयार रहेको बताए ।