काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले भोलि शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिने भएको छ । संविधानको धारा १६८ अनुसार विश्वासको मत लिने व्यवस्था मिलाइदिन प्रदेशसभा सचिवालयलाई पत्राचार गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री यादव मङ्सिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेताका हैसियतमा सात दलका ७७ प्रदेशसभा सदस्यको समर्थनमा नियुक्त भएको थियो । हालको अवस्थामा उनले सहजै विश्वासको मत प्राप्त गर्ने अनुमान गरिएको छ । विश्वासको मतपछि मधेस प्रदेश सरकार थप स्थिर भई विकास, बजेट कार्यान्वयन र सुशासनका काममा सक्रिय हुने अपेक्षा गरिएको छ ।
यसैबीच मधेस प्रदेशसभाको सभामुख निर्वाचन यही पुस ६ गते हुने भएको छ । सभामुख पद रिक्त रहेकाले प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ अनुसार निर्वाचन प्रक्रिया अघि बढाइएको उपसभामुख बबिता राउत ईशरले जानकारी दिए । निर्वाचनसम्बन्धी सूचना पुस ५ गते प्रकाशन गरिने छ ।