काठमाडौँ । पुसका लागि बाणिज्य बैंकहरूले ब्याजदर थप घटाएका छन् । २० वटा वाणिज्य बैंक मध्ये १३ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ७ ले स्थिर राखेका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा मंसिरको तुलनामा पुसमा ०.२० प्रतिशतले घटाएका छन् ।
कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, प्रभु, स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, प्राइम कमर्सियल, कुमारी, सानिमा र एसबीआईले ब्याजदर घटाएका छन् भने माछापुच्छ्रे, एनआईसी एसिया, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी र सिटिजन्स बैंकले ब्याजदर स्थिर राखेका छन् ।
मंसिरमा व्यक्तिगत मुद्दतीमा अधिकतम ५.०४०५ प्रतिशत ब्याजदर थियो भनेपुसमा ४.८३४ प्रतिशतमा झरेको छ । मंसिरमा व्यक्तिगत मुद्दतीमा अधिकतम ६ प्रतिशत ब्याजदर दिएको ग्लोबल आईएमई बैंकले पुसमा अधिकतम जम्मा ५.५ प्रतिशत कायम गरेको छ ।