चितवन । विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन्। पछिल्ला वर्षहरुमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएपछि किसानलाई नाफा हुनेगरी मूल्य पाएका हुन् ।
देशभरका पोल्ट्री फार्महरुको मूल्यलाई आधार मानेर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरा पालक सङ्घले मङ्गलबारदेखि लागू हुनेगरी नयाँ मूल्य कायम गरेको छ । त्यसअनुसार ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० को) ५८०, ठूलो अण्डा ५६५ र मिडिएम ५५० रुपैयाँ कायम गरिएको छ ।
यसअघि गएको साउनमा हालसम्मकै सबैभन्दा बढी ठूलो अण्डाको प्रतिक्रेट ५६० पुगेको थियो । क्रमशः मूल्य घटेर ४०० रुपैयाँमा झरेको थियो ।सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यभन्दा प्रतिक्रेट २० रुपैयाँले बढेको हो ।
उनका अनुसार भारतीय अण्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको हो । भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ र त्यहाँको अण्डाको खपतसँगै मूल्य बढेपछि अवैध रूपमा अण्डा नेपाल भित्रन नपाएको उनले बताए ।