काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सिंहदरबार परिसरको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र सञ्चारमन्त्री जगदीश खरेलले आइतबार अवलोकन गरेका छन्। भौतिक अवस्था निरीक्षणपछि भण्डारीले संवेदनशील सरकारी संरचनामा पुगेको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै यस्तो घटना नेपाली जनताका लागि अत्यन्त पीडादायी भएको बताइन्।

उनले भनिन्, भदौ २४ गते भएको घटनामा सरकारी भवनहरूमा तोडफोड, आगजनी र लुटपाटजस्ता गतिविधि भए । सिंहदरबारको अवस्था परिवर्तन भएको देख्दा धेरै दुःख लाग्यो । नेपाल सरकारले छिट्टै पुनर्निर्माण गरी पुरानै अवस्थामा ल्याउनेछ भन्ने आशा गर्दछु । जेनजी आन्दोलनका क्रममा भएको क्षतिले नेपाल राज्यका महत्वपूर्ण संरचनाहरू सुरक्षित राख्न आवश्यकतामाथि प्रश्न उठाएको उनको भनाइ थियो।