काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रपति भवन शीतलनिवासमा आइतबार पेश गरेको छ। आयोगका अध्यक्ष तपबहादुर मगर ले प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै मानवअधिकारको वर्तमान अवस्था, आयोगका गतिविधि र आगामी योजना समावेश भएको जानकारी दिएका छन्। नेपालको संविधानको धारा २९४ अनुसार आयोगले हरेक वर्ष राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था रहेको छ।
आयोगले प्रतिवेदनमार्फत मुलुकभर मानवअधिकारको स्थिति, विभिन्न उजुरी र त्यसमा गरिएको अनुसन्धान तथा सुधारका पहलहरूको विस्तृत विवरण पेश गरेको छ। आयोगका अध्यक्ष मगरले कार्यक्रममा मानवअधिकार संरक्षणमा सरकार, नागरिक समाज र स्थानीय निकायसँगको सहकार्यलाई विशेष महत्व दिएको बताए। साथै, उनले आगामी वर्षमा मानवअधिकारको क्षेत्रमा थप प्रभावकारी कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेका छन्। राष्ट्रपतिले आयोगको प्रतिवेदनलाई महत्वपूण्रक ठहर गर्दै मानवअधिकारको संरक्षण र संवर्द्धनमा समग्र समाजको सक्रिय सहभागिताको आवश्यकता रहेकोमा जोड दिएका छन्।