काठमाडौं । डार्शी सर्टको अर्धशतकमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध पाँच विकेटको जित दर्ता गरेको छ ।
जितसँगै ६ खेलमा ६ अंक जोडेको लुम्बिनीले प्लेअफ सम्भावना कायम राखेको छ । पराजित विराटनगरको समान खेलबाट आठ अंक छ ।
बुधबार त्रिवि क्रिकेट मैदानमा विराटनगरले प्रस्तुत गरेको १ सय ४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीका लागि शर्टले ४४ बलमा ६ चौका र दुई छक्कासहित सर्वाधिक ५७ रनको योगदान गरे । यसैगरी निरोशन डिवेलाले अविजित २९, सन्दीप जोराले २४, दिलिप नाथले १६ र सुमित महर्जनले १० रन बनाए ।
विराटनगरका लागि सुवास भण्डारी र कप्तान सन्दीप लामिछानेले दुई–दुई तथा बसिर अहमदले एक विकेट लिए ।त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ४४ रनको योगफल तयार पारेको थियो ।
विराटनगरका लागि लोकश बमले ३५, बसिर अहमदले २८, साम हेज्लेटले २७, फफा डुप्लेसिसले १२, प्रतिश जिसीले ११ र मर्सान्ट डि लाङ्गले अविजित १० रन बनाए । लुम्बिनीका लागि शेर मल्लले तीन तथा रुबेन ट्रम्पलम्यान, जेजे स्मिथ र अभिषेश गौतमले एक–एक विकेट लिए ।