काठमाडौँ । नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा ३१औं अन्तरमाध्यमिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता बुधबारदेखि सुरु भएको छ। प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमालय कुमार श्रेष्ठले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे। उद्घाटन समारोहमा एआईजी श्रेष्ठले विद्यालयले खेलकुद र अतिरिक्त गतिविधिलाई प्राथमिकतामा राख्दै समग्र विद्यार्थी विकासमा योगदान दिइरहेको बताए। उनका अनुसार यस्ता प्रतिस्पर्धात्मक प्रतियोगिताले अनुशासन, नेतृत्व क्षमता, सामूहिक भावना र खेल भावना विकासमा महत्वपूर्ण भूमिका खेल्छन्।
कार्यक्रममा प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य राखे भने समादेशक डिएसपी कुमार बिक्रम थापाले धन्यवाद ज्ञापन गरे। नेपाल पुलिस स्कुलका विद्यार्थीहरूले नृत्य प्रस्तुति तथा मार्च पास गरे। साथै नेपाल प्रहरी संगीत विद्यालयले ब्याण्ड डिस्प्ले प्रस्तुत गर्यो। प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा नेपाल पुलिस स्कुल साँगा रातो र पिस प्वाइन्ट स्कुल बानेश्वरबीचको खेल ०–० को बराबरीमा सकियो। यो वर्षको प्रतियोगितामा नेपाल पुलिस स्कुलका साँगा, धरान, चितवन र सामाखुसीका टिमसहित सैनिक आवासीय विद्यालय, सशस्त्र प्रहरी विद्यालय तथा काठमाडौं, भक्तपुर, ललितपुर र काभ्राका विभिन्न विद्यालयका गरी १४ विद्यालयका १५ टिम सहभागी छन्। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, स्थानीय तहका प्रतिनिधि, सुरक्षानिकायका प्रमुख, विभिन्न संघ–संस्थाका प्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।