काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ७, मित्रपार्कमा ‘यःमरी पुन्ही युनिटि फेस्ट’ आयोजना हुनेभएको छ । काठमाडौँ लिगेसीको आयोजनामाहुने यस फेस्टिवलले नेवारी समुदायको ऐतिहासिक पर्व यमरी पुन्हीको सांस्कृतिक महत्त्व र वैभवलाई उजागर गर्ने लक्ष्यका साथ हुनलागेको हो। अध्यक्ष विक्की शाहीका अनुसार, यमरी पुन्ही २०८२ को मुख्य उद्देश्य सम्पूर्ण नेपालीलाई एकता, शान्ति र संस्कृतिको साझा उत्सवमा जोड्नु हो।
काठमाडौँ लिगेसीले आयोजना गर्ने ‘यःमरी पुन्ही युनिटि फेस्ट’मा नेवारी समुदायका सदस्य, स्थानीय कलाकार, युवा र आम जनता सहभागी हुनेछन्। यःमरी पुन्ही युनिटि फेस्ट’ एक सांस्कृतिक फेस्टिवल हो, जसमा यमरी पुन्ही पर्वको महत्त्व, नेवारी परम्परा, सांगीतिक प्रस्तुति, परिकार, नृत्य र सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिनेछ। मङ्सिर महिनाको पूर्णिमाको दिन फेस्टिवल आयोजना हुनेछ। काठमाडौँ महानगरपालिका वडा ७, मित्रपार्कमा आयोजना गरिनेछ। यस फेस्टिवलको उद्देश्य नेपाली समाजमा एकता, शान्ति र साझा संस्कृतिको प्रचार गर्नु हो।
साथै नेवारी परम्परा र रैथाने संस्कृतिलाई संरक्षण गर्दै युवालाई सांस्कृतिक कार्यक्रममा सहभागी गराउनु हो। फेस्टिवलमा यमरीका विभिन्न स्वादका स्टलहरू,नेवारी परिकार, स्थानीय खानपान, बाजा, सांस्कृतिक नृत्य र युवाहरूका लागि सांगीतिक प्रस्तुति हुनेछन्। यस पर्वमा चामलको पीठोमा चाकु र तिल हालेर बनाइने मिठो रोटी ‘यमरी’ देवी अन्नपूर्णाप्रति कृतज्ञता व्यक्त गर्न अर्पण गरिन्छ र छरछिमेकमा बाँडिन्छ। यसरी बनाइने यमरी एकता, शान्ति र समृद्धिको प्रतीकका रूपमा पनि चिनिन्छ। यस कार्यक्रममा सहभागी हुनेहरुलाई प्रवेश निःशुल्क गरिएको छ ।