काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा पोखरा प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा छ भने सुदूरपश्चिम पहिलो खेलको हार बिर्साउँदै पुनरागमन गर्न चाहन्छ। कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले यस सिजनको पहिलो खेल खेल्न लागेको हो। अघिल्ला दुई संस्करणमा प्लेअफसम्म पुग्न नसकेको पोखरा यसपटक सुरुदेखि नै राम्रो प्रदर्शन गर्दै अन्तिम चारमा स्थान बनाउने योजनामा छ। यता दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो। उक्त खेलमा सुदूरपश्चिम ८७ रनमै समेटिएको थियो। त्यसैले पोखराविरुद्धको खेलमा ब्याटिङ सुधार्दै जितको लयमा फर्कनु टोलीको मुख्य लक्ष्य हुनेछ।
हेड टु हेडमा सुदूरपश्चिम अगाडि
एनपीएलका अघिल्ला दुई संस्करणमा पोखरा र सुदूरपश्चिमबीच भएका दुवै खेलमा सुदूरपश्चिम विजयी भएको थियो। पहिलो संस्करणमा पाँच रनको जित निकालेको सुदूरपश्चिमले दोस्रो संस्करणमा पोखरालाई १८ रनले हराएको थियो। यसपटक पोखरासँग पुरानो नतिजा बदल्ने अवसर छ। घरेलु प्रतियोगितामा राम्रो सुरुवात गर्दै आत्मविश्वास बढाउन दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण हुनेछ।
विदेशी खेलाडीमा पोखराको भरोसा
पोखराले यस सिजन विदेशी खेलाडीमा विशेष भरोसा राखेको छ। बंगलादेशका अनुभवी अलराउन्डर शाकिब अल हसन टोलीका प्रमुख आकर्षणमध्ये एक हुन्। उनले ब्याटिङ र बलिङ दुवैबाट योगदान दिन सक्ने अपेक्षा गरिएको छ। कप्तान कुशल भुर्तेलसँगै दिनेश खरेल र अर्जुन कुमालले शीर्षक्रममा जिम्मेवारी सम्हाल्ने सम्भावना छ। मध्यक्रममा अर्जुन घर्ती, किरण ठगुन्ना र विदेशी खेलाडीको भूमिका महत्त्वपूर्ण हुन सक्छ। बलिङतर्फ आकाश चन्द, बिपिन खत्रीलगायतका खेलाडी विकल्पका रूपमा छन्। पोखराले विदेशी खेलाडीको छनोट र ब्याटिङ–बलिङबीचको सन्तुलन मिलाउन सके प्रतिस्पर्धामा बलियो चुनौती प्रस्तुत गर्न सक्छ।
सुदूरपश्चिमलाई ब्याटिङ सुधार्ने चुनौती
सुदूरपश्चिमसँग नेपाली तथा विदेशी खेलाडीको अनुभवी संयोजन छ। कप्तान दीपेन्द्रसिंह ऐरीसँगै विनोद भण्डारी, आरिफ शेख र ब्रान्डन म्याकमुलेनले ब्याटिङमा योगदान दिन सक्नेछन्। मध्यक्रममा शेरफन रदरफोर्डको आक्रामक ब्याटिङ टोलीका लागि महत्त्वपूर्ण बन्न सक्छ। बलिङतर्फ स्कट कुगेलेइन, हेमन्त धामी, अनिल खरेल र अविनाश बोहराजस्ता खेलाडीबाट टोलीले अपेक्षा गर्नेछ। पहिलो खेलमा कमजोर देखिएको ब्याटिङ सुधार्न सके सुदूरपश्चिमले पोखरालाई दबाबमा राख्न सक्छ।
पोखराका कप्तान कुशल भुर्तेलको आक्रामक ब्याटिङ र शाकिब अल हसनको अलराउन्ड प्रदर्शन खेलका आकर्षण हुन सक्छन्। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्व र ब्याटिङसँगै रदरफोर्डको आक्रामक शैलीमा पनि दर्शकको नजर रहनेछ। समग्रमा पोखरा विजयी सुरुवातको लक्ष्यमा मैदान उत्रँदा सुदूरपश्चिम हारको शृङ्खला लम्बिन नदिने प्रयासमा हुनेछ। दुवै टोलीका लागि अंक जोड्ने र आत्मविश्वास फर्काउने अवसरका रूपमा आजको खेललाई हेरिएको छ।