धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षाकर्मीमाथि कुनै हस्तक्षेप गर्न नहुने बताएका छन् । मंगलवार सुदूरपश्चिम स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् । “सुरक्षाकर्मीको मनोबल बढाउने सम्बन्धमा हामीले पहिलो कुरा भनेकै सुरक्षाकर्मी माथि कुनै हस्तक्षेप गरिनुहुँदैन ” गृहमन्त्री अर्यालले भने, “सुरक्षाकर्मी माथि राजनीतिक आग्रह अथवा अन्य कुनै आग्रह बमोजिम हस्तक्षेप गरिनुहुँदैन । जुन हामीले हाम्रो व्यवहार आचरणबाट देखाइरहेका छौँ । र यो कुरालाई हामी सरकारमा हुँदा यसलाई निरन्तरता दिन्छौ र भोलीको सरकारले पनि यसलाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो अपेक्षा छ ।”

यस्तै गृहमन्त्री अर्यालले अहिलेको सरकारले प्रहरीको बढुवा, सरुवामा कुनै पनि आग्रह पूर्वाग्रह नराखी नियमअनुसार काम भइरहेको बताए । अहिले हामीले चाहे सरुवाको कुरा होस चाहे बढुवाको कुरा होस चाहे अरू कुनै कारवाहीसंग कुनै बिषयबस्तु हुन् । त्यसमा हामीले कुनै पनि आग्रह पूर्वाग्रह राखेका छैनौ ” अर्यालले भने, “नियम कानुन बमोजिम हामी चलिरहेका छौँ । अहिले सुरक्षाकर्मीको मर्यादा बढाउने काम गरेका छौँ । नागरिक र सुरक्षाकर्मीबिचको सम्बन्ध सुदृढ हुँदै गएको छ ।”
गत भदौ २३ र २४ गतेको जेन्जीको आन्दोलनमा प्रहरीको संरचनामाथी जति क्षति भए पनि अहिले ती कार्यको नागरिक स्तरबाटै पनि सहभागी भएर मर्मत कार्य अघि बढिरहेको र सुरक्षाकर्मीको मनोबल उच्च भयो भने मात्रै नागरिकको मनोबल उच्च हुने भन्दै सुरक्षाकर्मीको मनोबल उच्च बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
यस्तै गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी र लुटिएका हतियारका कारण चुनाव नबिथोलिने बताएका छन् । “फरार कैदीबन्दी फिर्ता ल्याउने र लुटिएका हतियार बरामद गर्ने क्रम पछिल्लो दिनमा वृद्धि भएको छ । फरार कैदीबन्दी र बाहिर रहेका हतियारको कारणले चुनाव बिथोलिँदैन,” मन्त्री अर्यालले भने, “यो कारणले निर्वाचन नै बिथोलिने हामीले हुन दिँदैनौँ । तीनलाई हामीले फिर्ता ल्याएरै छाड्छौँ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”