काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार दुई खेल हुँदैछन्। शनिबार बिहान ११:१५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्सको प्रतिस्पर्धा हुँदैछ भने दिउँसो ३:३० बजे दोस्रो खेलमा काठमाण्डु गुर्खाज र विराटनगर किंग्स भिड्दैछन् । दुवै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् ।
शनिबारको पहिलो खेल कर्णालीका कप्तान सोमपाल कामी र लुम्बिनीका कप्तान रोहितकुमार पौडेलका टिमको हो । रोहित राष्ट्रिय टिमका कप्तान हुन् भने सोमपाल नियमित खेलाडी हुन्।
पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटले पराजित भएको कर्णाली शनिबार पहिलो जितको खोजीमा हुनेछ । कर्णालीको प्रतिस्पर्धी टिम लुम्बिनी लायन्सका कप्तान पौडेल नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत हुन् । पहिलो खेलमा चितवलाई ६ विकेटले हराएको लुम्बिनी उच्च मनोबलका साथ मैदानमा हुनेछ । लुम्बिनी लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
शनिबारको दोस्रो खेलसमेत महत्त्वपूर्ण छ । राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर करण केसी र लेग स्पिन सन्दीप लामिछानेको भिडन्त रोचक बन्नेछ । करण काठमाडौंका कप्तान हुन् भने सन्दीपले विराटनगरको कप्तानी गरेका छन् ।