काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले आज सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर बलिङ रोजेको छ। खेल दिउँसो ४ बजेबाट सुरु भएको हो ।
पहिलो खेलमा विराटनगरसँग ५३ रनले पराजित भएको पोखरा आज पुनरागमनको खोजीमा छ। कप्तान कुशल भुर्तेलको अर्धशतक बाहेक टिमले अपेक्षित प्रदर्शन गर्न सकेको छैन। उता, काठमाडौं गोर्खाजविरुद्ध २९ रनको प्रभावशाली जित निकालेर उकासिएको सुदूरपश्चिमले विजयी यात्रा कायम राख्ने लक्ष्य लिएको छ। गत संस्करणमा दुवैबीचको भिडन्त सुदूरपश्चिमले ५ रनले जितेको थियो। आजको खेल दुवैको आत्मविश्वासका लागि महत्वपूर्ण मानिएको छ।