काठमाडौँ । जेनजी आन्दोलनमा आगजनीपछि ध्वस्त भएको सर्वोच्च अदालतले सोमबारदेखि सबै प्रकारका मुद्दामा सुनुवाइ गर्न लागेको छ । भदौ २४ गते जेन जी आन्दोलनको दुई महिनापछि सर्वोच्चको सेवा पूर्ण रूपमा सञ्चालन हुन लागेको हो । सामान्य मर्मतसम्हारपछि सोमबारदेखि सबै प्रकारका मुद्दामा सुनुवाइ गर्ने अदालतले जनाएको छ । आन्दोलनमा सर्वोच्चको भवन र मिसिलहरू जलेपछि मुद्दा प्रभावित हुँदै आएको थियो ।
यसबिचमा बन्दी प्रत्यक्षीकरण र रिटसम्बन्धी निवेदनमा मात्र सुनुवाइ हुँदै आएको थियो । सोमबारदेखि सबै प्रकारका मुद्दाको पेसी तोकेर नियमित सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । नियमित सुनुवाइ गर्ने भनिए पनि सर्वोच्चको एनेक्स भवनमा पाँचवटा मात्र इजलास छन् । कर्मचारी बस्न ठाउँसमेत अभाव छ । केही महिना थोरै मात्र मुद्दा हुने भएकाले पाँचवटा इजलासबाटै काम गर्न सकिने सर्वोच्चको भनाइ छ ।
धेरै मुद्दाको मिसिल जलेकाले पुनः प्राप्त गर्न समय लाग्ने भएकाले सुनुवाइ हुने मुद्दाको संख्या पनि कम हुने छ । सर्वोच्चमा रहेका २४ हजार दुई सय मुद्दामध्ये करिब २० हजार मुद्दाका मिसिल जलेका छन् । ती मिसिल पुनः प्राप्त गर्न समय लाग्ने भएकाले अन्य चार हजार मुद्दा तथा नयाँ मुद्दामा सर्वोच्चले सुनुवाइ अघि बढाउनेछ । सर्वोच्चले २४ भदौदेखि २० कात्तिकसम्मको अवधिलाई हदम्याद, म्याद र तारेखको अवधिका रूपमा गणना नगरिने र १ मंसिरदेखि ३० दिनसम्म तारेख थामिने भन्दै सूचना जारी गरिसकेको छ ।