काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन कान्तिपुर म्याक्स एचडी च्यानलबाट पनि प्रसारण हुने भएको छ । सोमबारदेखि सुरु हुने एनपीएलका सबै खेल स्टार स्पोर्ट्ससँगै अब नेपालभित्र कान्तिपुर म्याक्स एचडीबाट पनि प्रसारण हुने भएका हुन् ।
ओटीटी प्लेटफर्ममा भने डिशहोम गोबाट एनपीएल हेर्न सकिनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिता सुरु हुनुभन्दा चार दिन अगाडि मात्रै यसअघि निकालेको ठेक्का संशोधन गर्दै स्टार स्पोर्ट्सँगै नेपाली च्यानलबाट पनि खेल प्रसारण गर्ने योजना बनाएको थियो ।
४ नोभेम्बरमा नेपाल प्रिमियर लिगको नेपाल भित्रको प्रसारण अधिकार (लिनियर टेलिभिजन) बिक्रीका लागि सङ्घले टेन्डर निकालेको थियो । विदेशी च्यानललाई मात्रै छनोट गर्न ठेक्का निकालिएको भन्दै नेपालका टेलिभिजन च्यानल सञ्चालकहरूले विरोध गरेपछि क्यानले प्रतियोगिता सुरु हुन केही दिन अघि मात्रै ठेक्का संशोधन गरेको थियो ।
बिहीबार ठेक्का संशोधन गर्दै क्यानले नेपाली च्यानलहरूलाई पनि ठेक्कामा भाग लिन सक्ने गरी सूचना निकालेको थियो । जसमा कान्तिपुर म्याक्स एचडी छानिएको हो ।