काठमाडौँ । स्पेनले फिफा विश्वकप युरोपियन छनोटमा लगातार पाँचौं जित दर्ता गर्दै आफ्नो विजयी यात्रालाई निरन्तरता दिएको छ। शनिबार जर्जियामा भएको खेलमा स्पेनले घरेलु टोली जर्जियालाई ४–० ले पराजित गर्यो। यससँगै स्पेनले पाँच खेलबाट १५ अंक जोड्दै समूह ‘इ’ मा शीर्ष स्थान कायम राखेको छ।
पराजित जर्जिया भने समान खेलबाट ३ अंकसहित तेस्रो स्थानमा छ। डिनामो एरिनामा भएको खेलमा स्पेनका माइकल ओयार्जबलले दुई गोल गरे भने मार्टिन जुबिमेन्डी र फेरान टोरेसले समान एक–एक गोल थपे। खेलको ११औं मिनेटमा ओयार्जबलको पेनाल्टी गोलले स्पेनलाई अग्रता दिलायो। त्यसको ११ मिनेटपछि जुबिमेन्डीले अग्रतालाई दोब्बर बनाए। ३५औं मिनेटमा टोरेसको गोलपछि स्पेनको अग्रता ३–० पुगेको थियो। खेलको ६३औं मिनेटमा ओयार्जबलले दोस्रो गोल गर्दै टोलीलाई ४–० को स्पष्ट जित दिलाए।