काठमाडौँ । मधेश प्रदेश सभाका ५ जना सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख बबिताकुमारी राउतले बदर गरिदिएकी छन्।आफूविरुद्ध प्रदेश सभामा महाभियोगको प्रस्ताव दर्ता भएपछि सभामुख मण्डलले बिहीबार प्रदेशसभाका ५ सांसदलाई पदमुक्त गरेका थिए। लगातार १० वटा बैठकमा अनुपस्थित रहेको कारण देखाउँदै मण्डलले जसपाका ४ र नागरिक उन्मुक्ति पार्टीका एक सांसदलाई पदमुक्त गरिएको सूचना जारी गरेका थिए।
लगतै उपसभामुख बबिता कुमारी राउतले अर्को सूचना जारी गर्दै सभामुखविरुद्ध पद अनुकूल आचरण नगरेको कारण महाभियोगको प्रस्ताव दर्ता भइसकेको अवस्थामा उनको पद रिक्त भएको जिकिर गर्दै मण्डलको निर्णय बदर गरिदिएकी हुन्। साथै, उपसभामुख राउतले प्रदेशसभाको पछिल्लो बैठकको हाजिरी तथा भिडियो रेकर्डबाट सांसदहरू अनुपस्थित नरहेको देखिएको भन्दै सभामुखले गरेको पदमुक्तको निर्णय बदर हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराएकी छन्।
त्यसअघि सभामुख मण्डलले सांसदहरू उर्मिला देवी सिंह (सर्लाही), मनिष कुमार सुमन (सप्तरी), संजय कुमार यादव (सर्लाही), सिंहासन सा कलवार (सर्लाही) र सारदा संकर प्रसाद कलवार (बारा)लाई पदमुक्त गरेका थिए ।
