काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले शनिबार मध्यरातमा सामाजिक सञ्जालमा लेखेर मेटेको एक पोस्ट अहिले चर्चाको विषय बनेको छ । बालेनले उक्त पोस्ट आफ्नो वालबाट हटाए पनि स्क्रिनशट सञ्जालभरी छ्यापछ्याप्ती छ । उनको चर्को आलोचना भइरहेको छ । धेरैजसोले उनलाई मदिरा वा लागूपदार्थ सेवन गरेर त्यस्तो लेखेको भन्ने टिप्पणी गरिरहेका छन् ।
यही बेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पनि बालेन लक्षित एक पोस्ट गरेका छन् । उनले उक्त पोस्टमा केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले बेला बेला ‘सर्को तानेर’ बोलेको र लेखेको जस्तो लाग्छ भनेका छन् ।
‘केही केही आशालाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केही छैन’, शिक्षामन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ ।’