काठमाडौं ।सुडानको पश्चिमी डार्फर क्षेत्रस्थित न्याला सहरको एक बजारमा भएको ड्रोन आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ।
घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन्। चिकित्सा स्रोत र स्थानीय प्रत्यक्षदर्शीले मंगलबार अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई दिएको जानकारीअनुसार सोमबार राति बजारलाई लक्षित गरी आक्रमण भएको हो।स्थानीय बासिन्दाका अनुसार राति करिब ८ बजे न्याला सहरको उत्तरी क्षेत्रमा रहेको बजारमा ड्रोन प्रहार गरिएको थियो। उक्त बजारमा सर्वसाधारणसँगै अर्धसैनिक द्रुत समर्थन बल ९आरएसएफ० का लडाकूहरू पनि आउने गरेको स्थानीयले बताएका छन्।
न्याला अस्पतालका एक चिकित्सकले आक्रमणमा २१ जनाको मृत्यु भएको र ४० भन्दा बढी घाइते भएको पुष्टि गरेका छन्। यद्यपि, मृतक तथा घाइतेमध्ये कति जना आरएसएफका सदस्य थिए भन्ने विवरण स्पष्ट भइसकेको छैन।सुडानी सेना र आरएसएफबीच सन् २०२३ को अप्रिलदेखि सशस्त्र द्वन्द्व जारी छ। सेनाले न्याला क्षेत्रमा नियमित आक्रमण गर्दै आएको छ। आरएसएफले भने न्यालालाई आफ्नो प्रमुख आधार बनाएको छ र खार्तुमस्थित अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको विकल्पमा छुट्टै प्रशासन घोषणा गरेको छ।
ड्रोन आक्रमणबाट सर्वसाधारणको ज्यान जाने क्रम बढ्दो
सुडानमा जारी युद्धका क्रममा पछिल्लो समय ड्रोनको प्रयोग बढ्दै गएको छ। दुवै पक्षले विभिन्न क्षेत्रमा ड्रोनमार्फत आक्रमण गर्दा सर्वसाधारणसमेत ठूलो सङ्ख्यामा प्रभावित भइरहेका छन्।संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क उद्धृत गर्दै सार्वजनिक विवरणअनुसार अक्टोबरका पहिलो तीन सातामा मात्रै ड्रोन आक्रमणमा ३०० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए।सन् २०२३ मा द्वन्द्व सुरु भएयता दुई लाखभन्दा बढी मानिसको मृत्यु भएको सहायता क्षेत्रमा कार्यरत व्यक्तिहरूको अनुमान छ। युद्धका कारण सुडानमा गम्भीर भोकमरी र व्यापक विस्थापनको सङ्कटसमेत बढेको छ। निरन्तरको हिंसाले सर्वसाधारणको सुरक्षा, खाद्य आपूर्ति र आधारभूत सेवामा गम्भीर असर पारेको छ।