काठमाडौं ।बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवातसँग सम्बन्धित मौसमी प्रणालीको प्रभाव नेपालमा पनि देखिन सक्ने अनुमान गरिएको छ।
यसका कारण देशका विभिन्न भागमा वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।मौसमविद् विभूति पोखरेलका अनुसार उक्त प्रणालीले ल्याउने जलवाष्प र माथिल्लो वायुमण्डलमा सक्रिय मौसमी प्रणालीको संयुक्त प्रभावले नेपालमा वर्षा गराउन सक्छ। प्रारम्भिक अनुमानअनुसार बिहीबार साँझदेखि शनिबारसम्म यसको प्रभाव देखिन सक्नेछ।यद्यपि, प्रणालीको दिशा, गति र शक्तिमा हुने परिवर्तनले नेपालमा पर्ने प्रभावको मात्रा निर्धारण गर्नेछ। नेपाल नजिक आइपुग्दा प्रणाली कमजोर हुन सक्ने भए पनि धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्को भनाइ छ।
सम्भावित मौसमी अवस्थालाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पूर्वसावधानी अपनाउन आग्रह गरिएको छ। वर्षाका कारण पहिरो जान सक्ने सडक तथा क्षेत्रमा यात्रा गर्दा विशेष सतर्कता आवश्यक हुने बताइएको छ।उच्च हिमाली क्षेत्रमा हिमपातसँगै हिमआँधी र हिमपहिरोको जोखिमसमेत हुन सक्ने भएकाले पदयात्रा तथा पर्वतारोहणमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा बस्न र जोखिमयुक्त उचाइतर्फको यात्रा नगर्न सुझाव दिइएको छ।मौसम परिवर्तनले कृषि क्षेत्रमा पनि असर पार्न सक्ने भएकाले धान काट्ने तयारीमा रहेका किसानलाई मौसमको पूर्वानुमान हेरेर कामको योजना बनाउन आग्रह गरिएको छ।
मौसमविद्का अनुसार अक्टोबर र नोभेम्बरमा बङ्गालको खाडी तथा अरब सागरमा चक्रवातजन्य प्रणाली विकसित हुँदा मनसुन सकिएपछि पनि वर्षा हुन सक्छ। त्यसैले सम्भावित जोखिमबाट जोगिन मौसम पूर्वानुमान महाशाखाले जारी गर्ने आधिकारिक सूचना नियमित रूपमा हेर्न र त्यसैअनुसार दैनिक गतिविधि तय गर्न आवश्यक छ।