काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी कप्तान इन्दु वर्मा ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला क्रिकेटर बनेकी छन् । मलेसियामा जारी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत इन्दुले मंगलबार घरेलु टिमविरुद्ध ४८ रनको इनिङ खेलेसँगै यो कोसेढुंगा पार गरेकी हुन् ।
ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७७ खेल खेल्दा इन्दुले एक हजार ३३ रन बनाएकी छन् । उनले यसक्रममा एक अर्धशतक प्रहार गर्दा १८।७८ को औसतमा ब्याटिङ गरेकी छन् ।
नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा सीता रानामगर दोस्रो स्थानमा छिन् । सीताले ६३ खेलमा ९६५ रन बनाएकी छन् ।
यो सूचीको तेस्रो स्थानमा रहेकी रुविना क्षेत्रीले ९३६ रन बनाएकी छन् । चौथो स्थानमा रहेकी पूजा महतोले ५१२ बनाएकी छन् । पाँचौँ स्थानकी सम्झना खड्काले ३८७ रन बनाएकी छन् ।