काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको छ। सोमबार साँझ क्यानले फेसबुक पेजमार्फत् क्रिकेट टिमको टी-२० जर्सी सार्वजनिक गरेको हो।
यसअघि जर्सीमा नेपालको नाम लेख्दा पहेँलो रङ प्रयोग भएकोमा नयाँमा सेतो रङ प्रयोग भएको छ। नेपाली क्रिकेट टिमको नयाँ जर्सीमा गाढा निलो र रातो रङको प्रयोग भएको छ। जर्सीको एकतर्फको काँधमा नेपालको झण्डाको चन्द्र र अर्कोतर्फ सूर्य अंकित छ।
क्रिकेट टिमको जर्सीको स्पोन्सर नासा सेक्युरिटीजले गरेको हो। जसको लोगो जर्सीको बीचमा छ। जर्सीमा सगरमाथाको संकेत तलतर्फ राखिएको छ। क्यानले जर्सी सार्वजनिक गर्दै भनेको छ, ‘आफ्नो जोश लगाउनुहोस्, आफ्नो गौरव लगाउनुहोस्।’ जर्सी एकता, शक्ति र सपनाको प्रतीक भएको उल्लेख गरिएको छ। नेपालले नयाँ जर्सी वेस्ट इन्डिजसँगको टी–२० आई शृङ्खलामा लाएर खेल्नेछ।