धनगढी। प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र बहादुर चन्दले कैलाली प्रहरीको कमाण्ड सम्हालेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीको नेतृत्व सम्हालेसँगै एसपी चन्दले सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेका छन्। आइतबार कार्यालय प्रमुखको पदभार सम्हालेका उनले आज सोमबार अन्तरक्रिया गरेका हुन्।
अन्तरक्रिया कार्यक्रममा एसपी चन्दले नेपाल प्रहरीमा अहिले जनशक्ति अभाव र प्रहरीभित्र राजीनामा दिनेको मात्रा बढ्दै गएको बताएका छन्। उनले सोही कारण नागरिकले अपेक्षा गरेअनुसार सेवा प्रवाहमा प्रहरीलाई समस्या भैरहेको जानकारी दिए।
उनका अनुसार अहिले नयाँ नयाँ अवसरको खोजीमा प्रहरीबाट राजीनामा दिनेहरु बढ्दै गएको र प्रहरीभित्र पनि जनशक्ति अभाव, न्यून दरबन्दीजस्ता समस्या रहेका छन्। जसले गर्दा डिमाण्ड अनुसार सप्लाई हुन नसकेको एसपी चन्दको दाबी छ। यद्यपि उनले आफ्नो पाल्पा जिल्लापछिको दोस्रो कैलालीको जिल्ला कमाण्डलाई उपलब्धिमुलक बनाउने जिकिर गरे।
उनले त्यसका लागि आफूले जिल्लाको शान्ति सुरक्षामा योजनाबद्ध काम गर्ने, लागुऔषधका सवालमा प्रहरीले कारबाही गर्ने लगायत समुदाय र विद्यालय स्तरसम्म विभिन्न कार्यक्रम लैनाने पनि बताए। त्यसका लागि उनले कार्यपत्र बनाएर योजनाबद्ध लागू गर्ने तयारी रहेको जनाए।
यस्तै उनले कैलालीमा प्रहरीको आन्तरिक सुधारमा निर्मम भएर लाग्ने बताउँदै ट्राफिक प्रहरीको कामकारबाही सुधारबारे प्रयत्न गर्ने प्रतिबद्धता पनि गरे।
बैतडी स्थायी घर भएका चन्दले हिजोमात्रै कैलाली प्रहरीको नेतृत्व सम्हालेको हुन् । यस अगाडिका एसपी बाल नरसिंह राणा ४ महिनामै केन्द्रिय कार्यालय तानिएपछि प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) बाट चन्दलाई कैलाली पठाइएको हो । कैलाली कारागार घटनामा कमजोरी भएको भन्दै एसपी राणालाई प्रहरी प्रधान कार्यालयले तानेको थियो।