काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई फुटबल गतिविधिमा प्रतिबन्ध गर्ने निर्णय लागू नगर्न आदेश दिएको छ । अदालतले थापालाई प्रचलित कानुन र विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नियमविपरीत कुनै पनि गतिविधिमा सहभागी हुनबाट नरोक्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आदेश दिएको हो ।
न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र कृष्णराम कोइरालाको संयुक्त इजलासले एउटै कसुरमा दोहोरो सजाय दिन नमिल्ने र एउटै विषयमा पटक–पटक कारबाही गर्न नमिल्ने भन्दै एन्फाको अनुशासन समिति र सदाचार समितिको निर्णयलाई खारेज गरिदिएको हो । विश्व फुटबल महासंघ (फिफा) ले लगाएको १० वर्ष लामो प्रतिबन्धको अवधि समाप्त भइसक्दा पनि आफूलाई फुटबल गतिविधिमा संलग्न हुनबाट रोक लगाएको भन्दै थापाले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।
‘फिफाले निज निवेदकलाई १० वर्षको लागि कारवाही गरेकोमा सो कारवाही अवधिसमेत समाप्त भइसकेको तथा एन्फाले सोही विषयमा पुनः कारवाही गरी दोहोरो खतरामा राखेको देखियो । एउटै विषयमा पटक–पटक कारवाही गर्न नसकिने प्राङ्न्यायको सिद्धान्त समेतबाट पुनः कारवाही गर्न मिल्ने देखिँदैन’, अदालतको आदेशमा भनिएको छ’, ‘प्रचलित कानून, फिफाको नियम एवं एन्फाको विधान बमोजिमबाहेक निजलाई फुटबल गतिविधिमा सहभागी हुन नपाउने कुनै पनि काम कारबाही नगर्नू नगराउनू भनी एन्फासमेतको नाममा नेपालको संविधानको धारा १४४ बमोजिम उपयुक्त आदेशसम्म जारी गरिदिने ठहर्छ,’ आदेशमा भनिएको छ ।