काठमाडौं । अष्ट्रेलिया पलायन भएकी राष्ट्रिय भलिबल टिमकी सदस्य कविता भट्टले रहर नभई आफ्नो बाध्यता भएको बताएकी छिन् ।
एपीएफबाट व्यवसायिक भलिबल खेल्ने मिडल ब्लकर भट्ट गत साउनमा नै अष्ट्रेलिया पुगेकी थिइन् । उनले एपीएफबाट राजीनामा गरेर अष्ट्रेलिया पुगेकी हुन् ।
उनले न्यू साउथ वेल्स (एनएसडब्लु)को सिड्नीबाट लेखेकी छन्, ‘आफ्नो घर परिवार, आमाबुवा छोडेर बिदेशिने रहर हैन, बाध्यता हो । मेरो राष्ट्रिय भलिबल टिमबाट गोल्ड मेडल जित्ने ठूलो सपना थियो तर परिस्थितिले सपना अधुरो रह्यो ।’
उनले आफूलाई राष्ट्रिय टिमको सदस्यको स्तरसम्म पुर्याउन सशस्त्र प्रहरीको एपीएफ क्लबले ठूलो सहयोग गरेको स्मरण गर्दै आफ्नो संघर्षको दिनहरुमा साथ, सहयोग, हौसला र भलिबलप्रति लागिरहन प्रेरित गर्नेहरु सबैप्रति ऋणी रहने उल्लेख गरेकी छन् ।
