काठमाडौं । टप एन्ड टी–२० शृङ्खलामा आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको छ । नर्दन टेरिटोरीले दिएको एक सय ७८ रनको लक्ष्य पछ्याएको नेपालले आठ विकेट गुमाएर एक सय ३५ रन मात्रै बनाउन सक्यो ।
नेपालका कुशल मल्लले ३४, गुल्शनकुमार झाले २६ र कप्तान रोहितकुमार पौडेलले २३ बनाए । नर्दनका म्याट ह्यामन्डले तीन तथा केन रिचार्डसन र टम एन्ड्रयूजले समान दुई विकेट लिए ।
त्यसअघि अस्ट्रेलियाको डार्बिनमा टस हारेर ब्याटिङ गरेको नर्दन टेरिटोरीले आठ विकेट गुमाएर एक सय ७७ रन बनाएको थियो । नर्दनका डासी शर्टले ५१ रनसहित अर्धशतक बनाए । यस्तै टस एन्ड्रयूजले ३२ रन बनाए । नेपालका सन्दिप लामिछानेले तीन, शाहब आलमले दुई तथा रुपेशकुमार सिंह, दीपेन्द्रसिंह ऐरी र गुल्शनकुमार झाले समान एक विकेट लिए ।
नेपालले प्रतियोगिताअन्तर्गत भोलि बङ्गलादेश ‘ए’ सँग, भदौ २ गते मेलबर्न स्टार्ससँग, भदौ ३ गते होबर्ट हुरिकेन्ससँग, भदौ ४ गते मेलबर्न रेनेगाड्र्ससँग र भदौ ६ गते पाकिस्तान साहिन्ससँग खेल्ने छ ।
अस्ट्रेलियामा टप एन्ड टी–२० शृङ्खलापछि पनि नेपालले अरू तीन अभ्यास खेल खेल्ने भएको छ । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले यी दुई प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेको हो ।