काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दालाई लिएर उनकी पत्नी निकिता पौडेलले गृहमन्त्री रमेश लेखकमाथि न्यायिक प्रक्रियामा प्रत्यक्ष हस्तक्षेप गरेको आरोप लगाएकी छन्। लामिछाने माथि भएको अन्याय विरुद्ध उनले आफू उच्च अदालत बुटवल हुँदै अन्तर्राष्ट्रिय अदालतमा जाने समेत घोषणा गरेकी हुन्।
बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत लामो स्टाटस सार्वजनिक गर्दै उनले न्यायालयमा राजनीतिक प्रभावका कारण निष्पक्षता खल्बलिएको गम्भीर दाबी गरेकी छन्।
त्यसैगरी, रवि लामिछानेविरुद्धका सबै मुद्दा लेखक गृहमन्त्री भएपछि मात्र उठाइएका हुन् भन्दै उनले यो घटनाक्रमलाई सुनियोजित षड्यन्त्रको संज्ञा दिएकी छन्। अदालतमा बहसको क्रममा सरकारी वकिलहरू जवाफ दिन नसक्ने तर फैसला भने रवि लामिछानेविरुद्ध आउने आरोप पनि उनले लगाएकी छन्।