काठमाडौँ । आउँदो असोज एक गतेदेखि गाडीमा इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो ।
बैठकले आउँदो असोज एक गतेदेखि अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको हो । सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयबाट गाडी दर्ता, नामसारी र नवीकरण गर्दा असोज एकदेखि लागू हुनेगरी अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने र त्यसको कार्यान्वयनका लागि प्राविधिक सहयोग विभागले उपलब्ध गराउने तथा गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरीसमेत परिचालन गरी प्रभावकारी नियमन गर्ने बैठकको निर्णय रहेको छ ।
यसैगरी छपाइ गर्न बाँकी सवारी चालक अनुमतिपत्र अर्थात लाइसेन्स छपाइका लागि भदौ मसान्तभित्र छपाइ शुरू गर्न सुरक्षण मुद्रण केन्द्रलाई अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ ।
बैठकले १० वर्ष अवधिको चालक अनुमतिपत्र वितरणका लागि राजस्वमा एकरुपता कायम गर्ने, तथ्याङ्कलाई डिजिटलाइज गर्ने, भुक्तानी प्रक्रियालाई विद्युतीय माध्यममा लैजाने, सफ्टवेयर प्रणालीलाई चुस्त र व्यवस्थित पार्ने, राइड शेयरिङबारे एकरुपता कायम गरी लागू गर्नेलगायतका निर्णय पनि गरेको छ ।
यातायात सम्बन्धी सेवा प्रवाह गर्दा कर तिर्ने सेवाग्राही लाइनमा बस्न नपर्ने व्यवस्था मिलाउन सरकारले निर्देशन समेत दिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले कर तिर्ने सेवाग्राही लाइनमा बस्न नपर्ने गरी सबै प्रदेशले अनलाइन पेमेण्टको व्यवस्था मिलाउन निर्देशन दिए ।