काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको ७७ पदमा ज्येष्ठता, कार्यसम्पादन मुल्यांकन र व्यावसायिक क्षमतालाईसमेत आधारमानी बढुवा सिफारिस गरिएको छ ।
रिक्त पदमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षकमा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकमा १ जना र सशस्त्र प्रहरी नायव उपरीक्षकमा ४८ जनालाई सोमबार बढुवा सिफारिस गरिएको हो ।
ज्येष्ठता तथा व्यावसायिक क्षमता तथा कार्यसम्पादन मूल्याङ्कन लगायतलाई प्राथमिकतामा राखी खाली रहेको रिक्त पदमा बढुवा गरिएको र यसले सङ्गठनको बृत्तिविकास र सुरक्षा फौजको मनोबलमा हौसला वृद्धि हुने विश्वास सशस्त्रका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले व्यक्त गरे ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिसमा दोस्रो ब्याचको पहिलो चरणमा सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएकाहरू रहेका छन् भने उपरीक्षकमा बढुवा सिफारिस भएकाहरू तेस्रो ब्याच , सोही ब्याचका वैकल्पिक समूहमा परेका तथा चौथो ब्याच बाट ज्येष्ठता , व्यावसायिक क्षमता तथा कार्य सम्पादन मूल्याङ्कनलाई समेत आधार मानेर गरिएको छ । यस्तै सशस्त्र प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस भएका अधिकृतहरू ९ औँ ब्याचका रहेका छन् ।
मुख्यालयले बढुवा हुनको लागि असार ३२ गते सूचना जारी गर्दै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी नायव उपरीक्षकमा १५ दिनभित्र बढुवा फारम भरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको थियो ।
बढुवा मूल्याङ्कन फारामको लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरूको प्रतिलिपिहरू संलग्न गरी बढुवा समितिको सचिवालयमा पेस गर्न समेत भनिएको थियो ।





