काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)बाट करिब २ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ।
सोमबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले प्रस्तुत गरिएको आय–व्यय विवरणमा गहन छलफल गर्दै अन्तिम अनुमोदन अर्को बैठकबाट हुने जनाएको छ।
क्यानले जारी गरेको प्रेस विज्ञप्तिअनुसार एनपीएलको कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ रहेको छ। कुल खर्च भने २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ पुगेको छ। त्यसअनुसार एनपीएलको राजस्व बाँडफाँडअघि कुल नाफा ७ करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ रहेको थियो।
यस नाफाबाट ५० प्रतिशत अर्थात् ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ आठवटा फ्रेन्चाइज टोलीहरूलाई वितरण गरिएको छ। प्रदेशस्तरका क्रिकेट संघहरूलाई समेत ७० लाख रुपैयाँ बाँडफाँड गरिएको छ। बाँकी २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ क्यानको खातामा रहेको छ।
क्यान प्रवक्ता छुम्बी लामाले विज्ञप्तिमार्फत जानकारी दिँदै एनपीएल परिचालन परिषदले प्रस्तुत गरेको पहिलो संस्करणको आय–व्यय विवरण अध्ययनपछि आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन गरिने बताएका छन्।
