काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० अलराउन्डर वरीयताको फेरि दोस्रो स्थानमा उक्लिएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो वरीयतामा दीपेन्द्र एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन् । यसअघि दोस्रो स्थानमा रहेका रोस्टन चेज सात स्थान तल झरेर नवौं स्थानमा पुगेसँगै दीपेन्द दोस्रो स्थानमा उक्लिएका हुन् । यस्तै नेपालकै कुशल भुर्तेल ३४, गुल्सन झा ५८, रोहित पौडेल ६८, कुशल मल्ल ६९ र करण केसी ८७औं स्थानमा छन् ।
यो वरीयतामा भारतका हार्दिक पान्ड्या शीर्ष, अफगानिस्तानका मोहम्मद नवी तेस्रो स्थानमा छन् ।
टी–२० ब्याटिङ वरीयतामा भने दीपेन्द्रसिंह ऐरी दुई स्थान तल झर्दै ६३औं स्थानमा छन् । यस्तै रोहित पौडेल ६७, आसिफ शेख ७९ र कुशल भुर्तेल ८५औं स्थानमा छन् ।
यो वरीयतामा भारतका अभिषेक शर्मा शीर्ष, अस्ट्रेलियाका ट्राभिस हेड दोस्रो र भारतकै तिलक वर्मा तेस्रो स्थानमा छन् । टी–२० बलिङ वरीयतामा पनि दीपेन्द्रसिंह ऐरी पाँच स्थान तल झर्दै ८२औं स्थानमा छन् । यस्तै ललित राजवंशी ५६ र सन्दीप लामिछाने ७६औं स्थानमा छन् । यो वरीयतामा न्युजिल्यान्डका ज्याकोब डुफी शीर्ष, इङ्ग्ल्यान्डका आदिल रशिद दोस्रो र भारतका वरुण चक्रवर्ती तेस्रो स्थानमा छन् ।