काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ को उपनिर्वाचनका लागि आजदेखि उम्मेदवार हुन इच्छुकका लागि आवेदन आह्वान गरेको छ । आवेदन अवधि दुई साताका लागि राखिएको छ । २१ साउनसम्म उम्मेदवार हुन इच्छुकले निवेदन दिन सक्नेछन् ।
निवेदन दिएकाहरुको नामावली २२ साउनमा प्रकाशित गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । उम्मेदवारी उपर दाबी विरोधका लागि दुई दिन (साउन २३ र २४) का लागि छुट्याइएको छ । २५ साउनमा उम्मेदवारका लागि निवेदन दिनेहरुसँग छलफल राखिएको छ ।
२५ साउनमा प्रारम्भिक उम्मेदवार नामावली प्रकाशन, साउन २७ देखि भाद्र ११ सम्म लिडरसीप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटि र समावेशीता लगायतका लागि कार्यतालिका निर्धारण गरिएको छ । रास्वपाले रुपन्देही–३ को उम्मेदवारका लागि प्रारम्भिक निर्वाचनबाट उम्मेदवार छनोट गर्ने विधि बनाएको छ । त्यसका लागि भाद्र १२ र १३ का लागि समय छुट्याइएको छ । उम्मेदवार चयन १५ भदौमा गर्ने रास्वपाले जनाएको छ । उम्मेदवार हुन इच्छुकले रास्वपाको मोबाइलबाट निवेदन दिन सक्नेछन् ।
निर्वाचन आयोगले रुपन्देही-३ मा कात्तिक १७ का लागि उपनिर्वाचनको समय तोकेको छ । राप्रपाका सांसद दीपक बोहराको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।