कञ्चनपुर । छाउगोठमा सर्पले डसेर मृत्यु भएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीकी २८ वर्षीया कमला दमाईंको परिवारलाई कृष्णपुर नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ ।
नगरप्रमुख हेमराज ओझाले पालिकाको कार्यपालिकाबाट निर्णय गरी मृतक दमाईंको परिवारलाई रु ५० हजार आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिए । समाजमा रहेको कुप्रथाबाट अकालमा ज्यान गुमाउनु परेको बताउँदै नगरप्रमुख ओझाले यस्ता कुप्रथाको अन्त्यका लागि नगरभित्रका छाउगोठ भत्काउने अभियान शुरू भइसकेको जानकारी दिए ।
उनले प्रशासनसँग छलफल गरेर छाउगोठ नभत्काउने परिवारलाई विद्युत् सेवाबाट समेत बञ्जित गराउने तयारी भइरहेको बताए । गत शनिबार कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतिरहेकी २८ वर्षीया दमाईंको सर्पले डसेर मृत्यु भएको थियो ।