काठमाडौं । प्रा.डा.विश्वनाथ पौडेलको गभर्नरमा नियुक्तिमाथि प्रश्न उठाउँदै दायर भएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। गभर्नरमा पौडेलको नियुक्ति गैर कानुनी रहेको तर्क गर्दै नियुक्ति बदरको माग गर्दै परेको रिट मंगलबार दर्ता भएर सुनुवाइ लागि बुधवार पेशी तोकिएको छ ।
अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले पौडेलको नियुक्ति कानुनसम्मत नरहेको भन्दै खारेजीको माग गर्दै रिट निवेदन दिएका थिए। उनीहरूले पौडेललाई गभर्नर नियुक्तिको सिफारिस र नियुक्ति दुवै गैर कानुनी रहेको दाबी गर्दै रिट दायर गरेका थिए।
पौडेल गभर्नरमा अयोग्य रहेको तर्कमा उनीहरूले उनी राजनीतिक दलको सदस्य रहेको दाबी गरेका छन्। पौडेल २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट चितवन १ बाट उम्मेदवार बनेर पराजित भएका थिए। त्यसपछि पार्टीबाट राजीनामा दिएको र सदस्य नरहेको पौडेलले दाबी गर्दै आएका छन्।