शहरबाट निषेधित,
गाउँबाट निषेधित,
देशबाट निषेधित,
के निषेधित मान्छेहरूले माया गर्न पाउछन् ?
के निषेधित मान्छेहरूले स्वास फेर्न पाउछन् ?
सबैबाट निषेधित
सबैतिरबाट निषेधित
तिमीलाई थाहा छैन,
मैले कति भोगेको छु
निषेधित हुने यातना।
यी कानहरूलाई
मधुर बाणी सुन्न वर्जित गरिएको छ।
यी आँखाहरूलाई
सुन्दर दृश्य हेर्न वर्जित गरिएको छ।
ओठहरूलाई
मुस्कुराउन वन्चित गरिएको छ।
तर मसँग एउटा प्रश्न छ :
म
सबैतिरबाट
निषेधित भएको मान्छे ।
धेरै कुराहरूबाट
वन्चित गरिएको मान्छे,
तिम्रो मनबाट पनि
निषेधित भएको मान्छे,
मायाको प्यासले,
मायाको भोकले,
छट्पटिएको एउटा मान्छे ।
तर यी निषेधित स्वासहरू बीच,
सपनाहरूले सधैं तिमीलाई खोज्छ ।
के निषेधित मान्छेले
माया गर्न पाउँछ ।
के ढोका बाहिर निस्किन पाउँछ
वर्जित गरिएको मान्छे ?
के यो मान्छे दौडिन पाउँछ ?
के निषेधाज्ञा तोडेर उड्न पाउँछ
फरक दुनियाँमा
पँखेटा काटिएको मान्छे ?
कहिलेसम्म डोर्याएर पर लैजान्छ
समयले निस्सासिएको
भौतारिएको एउटा मान्छेलाई ?
आफ्नै लयमा स्वास फेर्न पनि
वर्जित गरिएको मान्छेलाई ?
एउटा निषेधित मान्छेलाई।।
लेखक :राजु सिटौला
महासचिव
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)