काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रकरणले सत्तारुढ नेपाली काँग्रेस र नेकपा (एमाले)बीचको गठबन्धनमा गम्भीर संकट ल्याएको छ । राष्ट्र बैंक गभर्नरविहीन भएको डेढ महिना बितिसक्दा पनि गभर्नर नियुक्तिमा सहमति हुन नसक्दा दुवै दलहरूबीच अविश्वास र खिचातानी बढेको हो ।
सोमबार गभर्नर नियुक्तिका लागि बस्ने भनिएको मन्त्रिपरिषद् बैठक नै स्थगित भयो र प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच तय भइसकेको भेटवार्ता पनि रद्ध भयो । एक साताअघि योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका विश्व पौडेललाई गभर्नर बनाउन कांग्रेसले गरेको प्रस्तावअनुसार सोमबारसम्म सिफारिस समितिको बैठक बस्ने र मन्त्रिपरिषद्ले नियुक्त गर्ने कांग्रेसको विश्वास थियो ।
तर, साँझ ६ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठक नै स्थगित गरेर गभर्नर नियुक्तिकै विषयमा छलफल गर्न भन्दै ओलीले देउवालाई बालुवाटार बोलाएपनि फेरि पनि गभर्नर भाँड्न खोजेको भन्दै असन्तुष्ट रहेका कांग्रेस सभापति देउवा बालुवाटार नै नगएका हुन् ।
राजनीतिक भागबण्डा क्रममा गभर्नर पद काँग्रेसको भागमा पर्ने सहमति भएको थियो। तर, प्रधानमन्त्री ओलीले काँग्रेसले सिफारिस गरेका उम्मेदवारहरूलाई स्वीकार गर्न अनिच्छा देखाएका छन्।
गभर्नर नियुक्तिमा भएको ढिलाइले नेपाल राष्ट्र बैंकको स्वायत्तता र कार्यक्षमतामाथि मात्रै प्रश्न उठाएको छैन, काँग्रेस र एमालेबीचको वर्तमान गठबन्धन सरकारको आयुमाथि नै अड्कलबाजी सुरु भएको छ । २४ चैत २०८१ देखि गभर्नरको पद रिक्त छ, र यो अवधिमा डेपुटी गभर्नरले नेतृत्व सम्हाल्दै आएका छन्।
कांग्रेसले गभर्नरका लागि सुरूमा राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टको नाम अघि सारेको थियो। भट्टलाई गभर्नर नियुक्त गर्न प्रधानमन्त्री पनि तयार थिए । तर, भट्टले वैशाख ५ मा कार्यकारी निर्देशक पदबाट राजीनामा दिएपनि कायम मुकायम गभर्नर नीलम ढुंगानाले स्वीकृत गरेकी छैनन् । यता सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले यसै हप्ताभित्र गभर्नर नियुक्त भइसक्ने दाबी गर्दै आएका छन् ।
नेकपा (एमाले) र नेपाली कांग्रेस आ-आफ्नै अडानमा रहँदा नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्ति थप पेचिलो बन्दै गएको हो । यतिसम्म कि गभर्नरकै कारण सरकार ढल्न सक्नेसम्मको अड्कल हुन थालेको छ।