काठमाडौँ । आज देशले लामो समयको प्रतीक्षा पछि नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर पाउने भएकोछ । गभर्नर नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे बस्ने तय भएको हो ।बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना रहको छ ।
प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेस र नेकपा एमालेको शीर्ष नेतृत्वबीचको सहमतिअनुसार अर्थशास्त्री तथा कांग्रेस कार्यकर्ता डा. विश्व पौडेललाई नेपाल राष्ट्रबैंकको १८ औं गभर्नर नियुक्त गर्ने गरी लगभग सबै तयारी पूरा भएका छन् ।
यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्यसमेत रहेका पौडेलले गभर्नर बन्नकै लागि गएको वैशाख २८ गतै नै सिफारिस समितिबाट राजीनामा दिइसकेका छन् ।
उनले राजीनामा दिएपछि सरकारले सिफारिस समितिको सदस्यमा डा।पोषराज पाण्डेलाई नियुक्त गरेको छ । सरकारले गभर्नर नियुक्ति गर्न नसक्दा विगत लामो सयमदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ ।
मन्त्रिपरिष्द् बैठक अघि गभर्नर सिफारिस समितिको बैठक बस्ने छ । त्यही बैठकबाट पौडेलसहित ३ जनाको नाम सिफारिस हुनेछ भने साँझको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्तिको निर्णय गर्नेछ ।
राष्ट्र बैंक ऐनको दफा २१ मा गभर्नरमा नियुक्त हुने व्यक्ति कुनै पनि राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने उल्लेख छ । तर पौडेल गत निर्वाचनमा चितवन–१ बाट संघीय सांसदको निर्वाचन लडेका थिए ।