काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । बन्दी प्रत्यक्षीकरणजस्तो संवेदनशील मुद्दा पाँचपटकसम्म हेर्न नमिल्नेमा परेपछि आइतबार हेर्न मिल्ने न्यायाधीशको इजलासमा राख्ने व्यवस्था गर्न आदेश भएको थियो ।
सर्वोच्च अदालत प्रशासनका अनुसार आज हेर्न मिल्ने न्यायाधीशबिच गोला प्रक्रिया गरी इजलास तोकिने छ । गत वैशाख ७ मा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भए पनि पहिलो पेसी न्यायाधीश हरिप्रसाद फुयाँलकोमा परेको थियो । तर, उनले हेर्न नमिल्ने भएपछि वैशाख ९ मा अब्दुल अजिज मुसलमानको इजलासबाट कारण देखाऊ आदेश जारी भएको थियो ।
यसपछि पनि २८ गते न्यायाधीशद्वय सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले पनि हेर्न नमिल्ने भनेको थियो । वैशाख ३० को पेसीमा न्यायाधीश फुँयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेपनि हेर्न मिलेको थिएन भने वैशाख ३१ को पेसीमा पनि नहकुल सुवेदी र मुसलमानको इजलासमा परेपछि हेर्न मिलेको थिएन ।
जेठ ४ गतेको पेसी पनि हेर्न नमिल्नेमा परेको थियो । बन्दी प्रत्यक्षीकरणको रिटलाई सुनुवाईमा प्राथमिकता दिने गरिएको भएपनि लामिछानेको रिट भने एक महिनादेखि सुनुवाई हुन सकेको छैन ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गरेपनि उच्च अदालतले भने उक्त आदेश उल्ट्याउँदै थुनामा पठाएको थियो । उच्चको आदेशको बदरसहित लामिछानेले ७३ नम्बरको निवेदन सर्वोच्चमा दिएका थिए भने उनलाई ग्रैह कानुनी तरिकारले पक्राउ गरि ४ दिन मात्रै अदालतमा पेशी गर्दा ग्रैहकानुनी थुनामा राखेको भन्दै लामिछानेकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् ।