काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि प्रारम्भ हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अधिवेशन सुरु हुनेछ।
नेपालका संविधानको धारा ९३ मा राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनका अधिवेशन आह्वान गर्ने व्यवस्था छ। तर एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको अवधि छ महिना भन्दाबढी हुन नहुने सवैधानिक व्यवस्था छ।
संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो। संसद् सचिवालयले अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने व्यवस्थापकीय र प्राविधिक आवश्यक सम्पूर्ण तयारी पूरा गरेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।