राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पार्टी उपसभापति डोलप्रसाद अर्यालले उच्च तहमा पुगेका सबै नेता र पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोगको माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीबाटै उच्चस्तरीय छानबिन आयोग बनाउन माग गरेका हुन् । प्रधानमन्त्री ओलीको भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने भनाई उद्धृत गर्दै अर्यालले भने, राज्यको उच्च निकायमा पुगेका पूर्व र वर्तमान सबै नेता र पदाधिकारीहरुको सम्पत्ति छानबिनका लागि भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने प्रधानमन्त्रीज्यूबाट उच्चस्तरीय छानबिन आयोग बनाउन म आग्रह गर्दछु ।
त्यस्तै, उनले वहालवाला प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र प्रहरी महानीरिक्षकबाट समेत संलग्नता छैन भनेको रवि लामिछानेको विषयमा संसदबाट प्रश्न उठेपछि आफूहरु छानबिन गर्न तयार भएको बताउँदै अन्य नेताको पनि छानबिन गर्न सरकार तयार हुने आशा रहेको बताए । उनले भने, ‘वहालवाला प्रधानमन्त्री तथा पूर्व प्रधानमन्त्री र प्रहरी महानीरिक्षकबाट समेत संलग्नता छैन भन्दाभन्दै पनि सदनमा प्रश्न उठेपछि हामीले हाम्रो पार्टीको सभापतिबारे छानबिन गर्न तयार भयौँ ।
हाम्रो पार्टीको सभापतिको त छानबिन सुरु भयो र हामी अदालततिर कानुनी लडाइँ लडिरहेका छौँ । आशा छ सरकार र सदन अब छानबिन आयोग बनाउन तयार हुनेछ ।’