काठमाडौँ – क्यानडामा आयोजना हुने आइसिसी विश्वकप लिग(२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा भाग लिन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज विशेष समारोहबीच विदाई गरिएको छ। सिरिजमा घरेलु टोली क्यानडा, नेपाल, र ओमान सहभागी हुँदैछन्।
दुई महिना लामो विदेश यात्रा
नेपाली टोली क्यानडामा सिरिज खेल्नका लागि दुई महिना देशबाहिर रहनेछ। क्यानडामा एकदिवसीय म्याचहरू सकिएपछि टी-२० सिरिज खेलिनेछ। क्यानडाको सिरिज पछि नेपाली टोली अमेरिका प्रस्थान गर्नेछ, जहाँ अर्को त्रिकोणात्मक सिरिज आयोजना हुनेछ।
सन्दीप लामिछानेको भिसा मुद्दामा सकारात्मक संकेत
अमेरिकाले यसअघि टी-२० विश्वकप खेल्न सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको थियो। तर, क्यानका सचिव पारस खड्काले लामिछानेको भिसा प्रक्रिया पूरा भइसकेको र यसबारे सकारात्मक संकेत प्राप्त भएको जानकारी दिएका छन्। खड्काले भने, “केस क्लोज भइसकेकाले हामीलाई विश्वास छ, यो विषय सकियो। हामी सबै नयाँ सोच विचारबाट अगाडि बढ्नुपर्छ।”
लामिछानेको एकदिवसीय खेलमा पुनरागमन
नेपाली टोलीका लेगस्पिनर सन्दीप लामिछानेका लागि यो सिरिज निकै महत्वपूर्ण रहेको छ। लामिछानेले एक वर्षपछि नेपाली एकदिवसीय खेलमा फर्कने मौका पाएका छन्। उनले यो अवसरलाई सदुपयोग गर्दै राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेका छन्।