काठमाडौँ । कोभिड महामारी पछि नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती तथा त्यसका समाधानका बाटोहरू बारे उच्चस्तरीय सम्मेलन आज काठमाडौँमा सम्पन्न भएको छ।
स्वास्थ्य सेवाको गुणस्तरीयता र उक्त सेवामा जनताको पहुँचका सन्दर्भमा भइरहेका प्रयत्नबारे नेपालको स्वास्थ्य क्षेत्रमा संलग्न सरोकारवाला र साझेदारहरूको छलफल र थप सुधारका लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले महामारी सम्झौतामा अतिकम विकसित राष्ट्रका सरोकार भावी महामारी सामना गर्न स्वास्थ्य क्षेत्रको सबलीकरण विषयक उक्त सम्मेलन आज सम्पन्न भएको हो।
एलडिसी वाच, एसएएपिई, आराअरएन र फेक्ट नेपाल नामक संस्थाहरूको संयुक्त आयोजनामा भएको उक्त सम्मेलनमा बोल्दै कार्यक्रमका प्रमुख वक्ता प्रा.डा.अर्जुन किर्किले कोभिड महामारीले विश्वभरका स्वास्थ्य सेवा संरचनामा रहेका कमीकमजोरी र असमानताहरू साथै अतिकम विकसित राष्ट्रहरूले महामारीको सम्बोधन गर्दा सामना गर्नु परेका चुनौतीहरूलाई उजागर पारेको बताएका थिए।
भविष्यमा आई पर्ने महामारीको लागि पूर्व तयारी र दीर्घकालीन रूपमा यो सम्झौता हाम्रा आवश्यकताहरू प्रति उत्तरदायी बनाउने उद्देश्यले ठोस नीति बनाउनु आवश्यक रहेको डा। कार्कीले बताए।कार्यक्रममा बोल्दै नेपालका लागि संयुक्त राष्ट्रका संयोजक हाना सिंगर हाम्दीले कुनै पनि महामारीमा सबै भन्दा बढी प्रभावित हुने समूह, महिला र अन्य अल्पसङ्ख्यक सीमान्तकृत समूहहरू भएकोले यसलाई ठोस योजनाद्वारा सम्बोधन गर्नुपर्ने बताइन।
कोभिड-१९ को आपत्कालीन समयलाई सम्झिँदै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, चिकित्सा अनुसन्धान इकाई प्रमुख शेर बहादुर पुनले सङ्घीयता प्रणाली लागु भए पश्चात् महामारीको सामना गर्नु पर्दा सङ्घीय सरकारहरुबीच समन्वय फितलो भएको र त्यसको कारण महामारीले धेरै असर पुर्याएको बताए।
प्रस्तावित सम्झौताको केन्द्रबिन्दुमा, महामारीबाट बच्न आवश्यक पर्ने स्वास्थ्य उपकरणहरू भ्याक्सिन, जीवन रक्षक औषधि, स्वास्थ्य उपकरण, सूचना र विशेषज्ञता र स्वास्थ्य सेवामा सबैको आर्थिक क्षमताका साथै समान पहुँचको सुनिश्चितता महत्त्वपूर्ण भन्ने कुरा कार्यक्रममा छलफल भएको थियो। स्वास्थ्यलाई अधिकारमुखी, सामाजिक न्याय, लैङ्गिक र पर्यावरणीय दृष्टिकोणबाट हेर्नुपर्नेमा एकमत रहेको थियो।
कार्यक्रममा परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल, र स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्ति जस्तै स्वास्थ्य सेवा विभागका डा। सङ्गीता कौशल मिश्रा, मानवअधिकार रक्षकहरू गौरी प्रधान र रेणु अधिकारी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा. डा. केदार बराल, विश्व स्वास्थ्य सङ्गठनका विनोदकुमार बुरा, स्वास्थ्य अधिकारकर्मी शान्त लाल मुल्मी, प्रा. डा.शम्भु कुमार उपाध्याय लगायतको उपस्थिति थियो।