काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले अध्यक्षसमेत रहेकी प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मदेवार बनाउने निर्णय गरेको छ ।
शुक्रबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यक्ष चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए ।
सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टीले बाराका सांसद रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाउने निर्णय गरेको छ । तर उपराष्ट्रपतिमा नागरिक उन्मुक्ति पार्टीले पनि उम्मेदवार उठाउने भएपछि भने यो उम्मेदवार छनोट पेचिलो बनेको छ ।
यसअघि शुक्रबार बिहान बसेको माओवादी धाराका दलहरूको बैठकमा फरक समुदायबाट महिला उपराष्ट्रपति उम्मेदवार बनाउन सुझाव आएको थियो । शुक्रबार नै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि उपराष्ट्रपतिमा कुन पार्टीलाई दिने भन्ने औपचारिक निर्णय नभइसकेको बताएका थिए ।
निर्वाचन आयोगले राष्ट्रपतिमा खस–आर्य समुदायका पुरुष निर्वाचित भइसकेकाले अब योभन्दा फरक लिंग वा समुदायको व्यक्ति उपराष्ट्रपतिको उम्मेदवार बन्नुपर्ने भएकाले त्यहीअनुसार उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।