काठमाडौं। नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा दुई नेपाली क्रिकेटर पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जानकारी दिएको छ।
मंगलबार पत्रकार सम्मेलन गर्दै सीआईबीले राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई पक्राउ गरिएको जानकारी दिएको छ।
सीआईबीका कार्यवाहक प्रवक्ता एसपी सञ्जयसिंह थापाले महबुब आलमले दुई नेपाली खेलाडीलाई फिक्सिङका लागि आर्थिक प्रलोभन दिएको जानकारी दिए।
आदिललाई एउटा नो बल र एउटा वाइड फाल्न एप्रोच भएअनुसार उनले त्यसै बमोजिम खेलेको थापाले बताए। उनले खेलेका कम्तीमा २ वटा खेलमा सोही प्रकृतिको खेल देखिएको पनि सीआईबीको दाबी छ।
उनले व्यवस्थापनमा रहेका ४ जना पनि फिक्सिङमा संलग्न रहेको बताए। जसमा चार टिम काठमाडौं नाइट्स, बिराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फरवेष्ट युनाइटेड रहेका छन्।
सीआईबीका अनुसार फिक्सिङमा जम्मा १० जनाको संलग्नता देखिएको छ। जसमा १ जना नेपाली खेलाडीसहित ४ जना नेपाली र ६ जना विदेशी नागरिकको संलग्नता देखिएको जनाएको छ।
उनका अनुसार पाँचजना खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव गरिएको थियो। तर, फिक्सिङमा एक नेपाली र एक विदेशी गरी २ जना खेलाडी संलग्न रहेको सीआईबीको दाबी छ।
अहिलेसम्मको अध्ययन अनुसार ४ वटा खेलमा स्पट फिक्सिङ भएको देखिएको छ। वाइड, चौका, छक्का, नो, बल, नो रन लगायतमा खेलाडीलाई ६ लाखदेखि १० लाख रुपैयाँसम्म अफर गरेको पाइएको पनि सीआईबीले जनाएको छ।
म्याच फिक्सिङमा संलग्न अन्य व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन।
सोमबार सीआईबीले अन्सारीलाई राजविराजबाट र आलमलाई विराटनगरबाट पक्राउ गरेको थियो।
उनीहरुलाई राष्ट्रिय खेलकुद विकास ऐनअनुसार अनुसन्धानका लागि ५ दिन म्याद थपिएको छ।
सम्बन्धित समाचारः
फिक्सिङ आरोपमा क्रिकेटर आदिल अन्सारी र मेहबुब आलम पक्राउ
फिक्सिङ आरोपमा पक्राउ परेका आदिल र मेहबुबमाथि के हुन्छ सजाय ?