काठमाडौं। नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा दुई नेपाली क्रिकेटर पक्राउ परेका छन्।
पक्राउ पर्नेमा राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम रहेका छन्।
सोमबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अन्सारीलाई राजविराजबाट र आलमलाई विराटनगरबाट पक्राउ गरेको हो।
प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान)को रणनीतिक साझेदार रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसकै संलग्नतामा फिक्सिङ भएको खुलेको छ। सेभेन थ्री स्पोर्ट्सका मालिक जतिन अहुवालियाको सहयोगीका रूपमा फिक्सिङमा सघाएको आरोप आलम र अन्सारीमाथि छ।
आदिलले लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए। तर मेहबुब भने लिगमा कुनै पनि टिममा आबद्ध थिएनन्। लिगको समयमा उनी भारतमा गएका थिए।
आदिलले गत मार्चमा घरेलु मैदान त्रिविमा पपुवान्युगिनीसँगको खेलमा डेब्यु गरेका थिए। उक्त खेलमा १९ वर्षीय आदिलले ११ बलमा ३१ रन हानेर सनसनी मच्चाएका थिए।
पूर्व क्रिकेटर महबुब कीर्तिमानी खेलाडी हुन्। उनले २००८ को विश्व क्रिकेट लिग डिभिजन ५ अन्तरर्गत मोजाम्बिकविरुद्ध १० विकेट लिँदै दुर्लभ कीर्तिमान बनाउन सफल भएका थिए।
सम्बन्धित समाचारः
फिक्सिङ आरोपमा क्रिकेटर आदिल अन्सारी र मेहबुब आलम पक्राउ
सजाय के ?
मुलुकी अपराध संहिता २०७४ ले खेल मिलेमतो तथा म्याच फिक्सिङसम्बन्धी कसुरमा सजाय निर्धारण गरेको छ।
संहिताको दफा ५१ उपदफा तीनमा नेपालमा वा विदेशी मुलुकमा मिलेमतो गरे तीन वर्षसम्म कैद र तीन हजारसम्म जरिवाना तोकेको छ।
साथै फिक्सिङमा लेनदेन भएको रकम सबै जफलत हुने कानुनी व्यवस्था छ।

