काठमाडौं। नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा दुई नेपाली क्रिकेटर पक्राउ परेका छन्।
पक्राउ पर्नेमा राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम रहेका छन्।
सोमबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अन्सारीलाई राजविराजबाट र आलमलाई विराटनगरबाट पक्राउ गरेको हो।
प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान)को रणनीतिक साझेदार रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसकै संलग्नतामा फिक्सिङ भएको खुलेको छ। सेभेन थ्री स्पोर्ट्सका मालिक जतिन अहुवालियाको सहयोगीका रूपमा फिक्सिङमा सघाएको आरोप आलम र अन्सारीमाथि छ।
आदिलले लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए। तर मेहबुब भने लिगमा कुनै पनि टिममा आबद्ध थिएनन्। लिगको समयमा उनी भारतमा गएका थिए।
आदिलले गत मार्चमा घरेलु मैदान त्रिविमा पपुवान्युगिनीसँगको खेलमा डेब्यु गरेका थिए। उक्त खेलमा १९ वर्षीय आदिलले ११ बलमा ३१ रन हानेर सनसनी मच्चाएका थिए।
आदिलले नेपालबाट ६ ओडिआई र ८ टि२० आई खेल खेलेका छन्। आदिलले मधेश क्रिकेटबाट घरेलु क्रिकेट खेल्ने गर्दछन्। आदिल तल्लोक्रममा आक्रामक ब्याटिङसँगै तीव्र गतिमा बलिङ गर्ने गर्दछन्।
पूर्व क्रिकेटर महबुब कीर्तिमानी खेलाडी हुन्। उनले २००८ को विश्व क्रिकेट लिग डिभिजन ५ अन्तरर्गत मोजाम्बिकविरुद्ध १० विकेट लिँदै दुर्लभ कीर्तिमान बनाउन सफल भएका थिए।
फिक्सिङ
नेपाली क्रिकेट टिमका पूर्व कप्तान तथा प्रतियोगितामा काठमाडौंबाट खेलेका ज्ञानेन्द्र मल्लले लिगमा पनि म्याच फिक्सिङ भइरहेको खुलासा गरेका थिए।
म्याच फिक्सिङ भइरहेको आरोप लगाउँदै अधिकारिक प्रसारणमा कमेन्टेटरको रुपमा काम गर्दै आएका सचिन तिमल्सिनाले लिगबाट अलग भएको घोषणा गरेका थिए।
लिगमा बेटिङ, म्याच फिक्सिङ र स्पट फिक्सिङ भइरहेको भन्दै विरोध आलोचना भएपछि गृहमन्त्री रवि लामिछानेले छानविन गर्न निर्देशन दिएका थिए।
उक्त विषयमा छानविनका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टोली काठमाडौं आएको थियो भने राष्ट्रिय खेलकुद परिषद (राखेप)ले समेत छानबिन समिति गठन गरेको थियो। आईसीसीको टोलीले सिआइबीसँग पनि गएर भेटेको थियो।
नेपाल टी–२० लिग पुस ९ गतेबाट २७ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना भएको थियो।
स्रोतका अनुसार अन्य क्रिकेटरहरुलाई पनि पक्राउ गर्ने तयारी गरिएको छ ।