अष्ट्रेलिया। सिड्नीको बरउडपार्कमा शनिबार भएको नेपाल फेष्टिवलको सर्वत्र विरोध भइरहेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिको आयोजनामा भएको नेपाल फेष्टिवलको सर्वत्र विरोध भइरहेको हो।
फेष्टिवलमा राजनीतिको प्रभाव देखिएको, एनआरएनको पैसा सक्ने तथा कमाउ धन्दामा लागेको आरोप फेष्टिवलका आयोजकमाथि लागेको छ।
अष्ट्रेलियामा रहेर सेतोपाटी अनलाइनमा कार्यरत पत्रकार हेमन्त काफ्लेले फेष्टिवल आफन्त र दलीय सिण्डिकेटको नमुना रहेको भन्दै आलोचना गरेका छन्। उनले फेष्टिवलमा पत्रकारलाई समेत प्रतिवन्ध र दुर्व्यवहार गरिएको गुनासो गरेका छन्।
उनले नेपाली आएर मात्र नेपालको प्रवर्धन नहुने भन्दै फेष्टिवलमा कति विदेशी आए त्यसको जिम्मा नेतृत्वले लिनुपर्ने बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सिड्नीको नेपाल महोत्सव पत्रकारलाई समेत प्रतिवन्ध र दुर्व्यवहार। आफन्त र दलीय सिन्डीकेटको नमुना। नेपाली आएर मात्र नेपालको प्रवर्धन हुँुदैन। कति विदेशी आए नेतृत्वले यसको जिम्मा लिनुपर्छ। एनआरएन कसैको बाउको विर्ता होइन, मनपरी गर्न।’

सम्बन्धित समाचारः
अष्ट्रेलियामा नेपाली फेष्टिवलः चरम राजनीति, नेपाली–नेपालीबीच नै भेदभाव
त्यस्तै, उनले अगाडि लेखेका छन्, ‘समाज र मुलुकको सेवा गर्छु भनेर एनआरएनमा होमिएका नमुनाहरु मुलुकमारा हुन्डीवाल र मानवतस्कर अनि आफन्तको लावालस्करलाई आसन ग्रहण र भाषण गराउनमै ब्यस्त देखिन्छन। हैट, यो कस्तो समाजसेवा हो बुझ्न सकिएन।’

उनले लेखेको स्टाटसमा अधिकांशले समर्थन जनाउँदै गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिले फेष्टिवलमा गरेको व्यवहारको विरोध गरेका छन्।
त्यस्तै, काफ्लेको स्टाटसमा कमेन्ट गर्दै सरल गुरुङले पत्रकारको भन्दा भन्दै पनि सेक्युरिटी गार्डले बाटो छेक्ने र भिडियो तथा फोटो खिच्न रोक्ने कार्य दुर्भाग्य भएको बताएका छन्।
उनले पत्रकार हेमन्त काफ्ले र चिरञ्जिवी देवकोटामाथि दुर्व्यवहार गरिनु घोर आपत्तिजनक रहेको बताएका छन्। पत्रकारमाथि फेष्टिबलमा दुर्व्यहार भएपछि आफू पनि कार्यक्रमस्थलबाट निस्किएको उनले उल्लेख गरेका छन्।

शनिबार भएको फेष्टिवलमा विभिन्न स्थानबाट नेपालीहरू आएका छन्। अष्ट्रेलियामा नेपाली कला, संस्कृति, भाषा, खाना र पहिरनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको फेष्टिवलमा राजनीतिको प्रभाव देखिएको थियो। सहभागीहरुका अनुसार फेष्टिवलमा बार बनाइएको थियो, जसमा भित्र र बाहिर गरेर राखिएको थियोछ। राजनीतिक पहुँचको भरमा फेष्टिवलमा करिब एक सय जनालाई मात्रै भित्र कुर्सीमा राखिएको थियो भने अन्यलाई बाहिर उभ्याइएको थियो।
गैरआवासीय नेपाली संघ अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिका कोर्डिनेटर देव गुरुङले फेष्टिबलमा नेपालीलाई जोड्ने भन्दा तोड्ने काम गरेको आरोप लागेको छ।
गुरुङले एनआरएनमा चरम राजनीति गरेको, एनआरएनको पैसा सक्ने तथा कमाउ धन्दामा लागेको आरोप सिड्नीमा रहेका नेपालीहरुले लगाएका छन्।
फेष्टिबलको अघिल्लो दिन बसेको बैठकमा पत्रकारदेखि सबैलाई बोलाउने भनिएको थियो। तर, फेष्टिबलको दिन गुरुङले आफ्नो मानिसबाहेक अन्यलाई वेवास्था गरेका थिए।
गुरुङले एनआरएनलाई नेपाली संस्था नभएर व्यक्तिगत संस्था बनाएको आरोप त्यहाँ रहेका पत्रकार, विभिन्न संघसंस्था प्रतिनिधिहरुले लगाएका छन्।