काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३०५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिस क्लबले ५० ओभरमा ४ विकेट गुमाएर ३०४ रन बनायो।
पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले शतक बनाए। उनले १२५ बलमा १४० रन बनाए। प्रतियोगितामा दीपेन्द्रको यो दोस्रो शतक हो। यसअघि उनले बागमती प्रदेशविरुद्ध पनि शतक बनाएका थिए।
त्यस्तै, पुलिसका आशिफ शेखले नटआउट १०९ बलमा ९१, कुशल भुर्तेलले ३१, सुनिल धमालाले १३, अमित श्रेष्ठले १० र करण केसीले नटआउट ८ रन बनाए।
आर्मीका विक्रम सोबले ३ र सुशान भारीले १ विकेट लिए।
आर्मीका जितेन्द्र मुखिया र विक्रम सोबले १० ओभरमा ६६/६६, साहव आलमले ४७, सुशान भारीले ४५, हरी चौहानले ७ ओभरमा ३९ र कुशल मल्लले ३ ओभरमा ३७ रन दिए।
आजको खेलको विजेताले उपाधिका लागि एपीएफसँग खेल्नेछ। फाइनल शनिबार हुनेछ।