छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय युवा अध्यक्ष पदमा निर्वाचित भएका छन्।
जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका पूर्वअध्यक्षलगायत १२ उम्मेदवारलाई पछि पार्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का विद्यानन्द चौधरी अध्यक्षमा निर्वाचित भएका हुन्।
निर्वाचन अधिकृत सूर्यराज घिमिरेका अनुसार उनले दुई हजार ८९५ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का सत्यनारायण यादवले एक हजार ७६६ मत ल्याए।
सो गाउँपालिकाका निवर्तमान अध्यक्ष सूर्यनारायण मण्डलले ८०० र जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख प्रभाकर यादवको ८९८ मत मात्र ल्याए।
लोसपाका चौधरी लोकप्रिय मतका साथ अध्यक्षमा निर्वाचित भए पनि उपाध्यक्षसहित वडाध्यक्ष लोसपाले जित्न सकेन । उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का राजुदेवी यादवले दुई हजार ४७२ मत प्राप्त गरेर निर्वाचित भइन्।
सात वडा रहेको गाउँपालिकामा एमाले र माओवादीले दुई–दुई, जसपा, नेकपा (एकीकृत समाजवादी) र जनमतले एक÷एक वडाध्यक्षमा जित हासिल गरेको छ।
जिल्लामा हालसम्म घोषित १६ स्थानीय तहको परिणामअनुसार कांग्रेसले सर्वाधिक पाँच नगर प्रमुखमा जित हासिल गरेको छ।
यसैगरी जसपाले तीन, एमाले, लोसपा र जनमत पार्टीले दुई–दुई, एकीकृत समाजवादी र माओवादी केन्द्रले एक–एक स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ।
बाँकी जारी रहेको मतगणनामा रुपनी गाउँपालिकामा लोसपा र डाक्नेश्वरी नगरपालिकामा एमालेले अग्रता कायम राखेको छ। रुपनीमा जसपा र डाक्नेश्वरीमा कांग्रेसका उम्मेदवारले पछ्याइरहेका छन्।