सभामुख अग्निप्रसाद सापकोटाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सबैलाई अपिल गरेका छन् ।
‘रे टेलिभिजन एचडी’को आज उद्घाटन गर्दै सभामुख सापकोटाले आमसञ्चार माध्यमलाई प्रविधिमैत्री बनाउँदै आवाजविहिनको आवाज बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, “प्रविधिले सञ्चारमा क्रान्ति ल्याएको छ, जसको कारण ससंसार साँघुरो भएको छ, आधुनिक विज्ञानमा टेलिभिजन नवीनतम आविष्कार हो, यसको सही ढङ्गले संयोजन गर्नुपर्ने हुन्छ ।” उनले प्रविधिको विकासलाई सकारात्मक मात्रैभन्दा पनि नकारात्मक पक्षलाई केलाउँदै समग्र विकासलाई प्रविधिसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिए ।
सभामुख सापकोटाले भने, “मलाई युवा पुस्ताप्रति विश्वास छ, ज्ञानको केन्द्रीकरण सामूहिकतामा हुन्छ, युवाले सामूहिक पहलमा धेरै काम गर्न सक्छन् ।” नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले टेलिभिजनले देशको सामाजिक विकासँगै आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले आमसञ्चारका माध्यमले मुलुकको अर्थतन्त्रलाई उक्साने गरी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।